- प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई उपेक्षा गरेको र उनलाई संसद्प्रति उत्तरदायी बनाउन सभामुख अर्याल अक्षम बनेको आरोप
- सभामुख अर्यालमा सत्तारुढ रास्वपाको प्रभाव देखिएको टिप्पणी
- प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउन र सभामुखलाई निष्पक्ष–तटस्थ बनाउनका लागि दबाब दिन सशक्त प्रतिरोध गर्ने प्रतिपक्षी दलहरुको घोषणा
काठमाडौं- प्रतिपक्ष दलहरूले प्रतिनिधिसभा बैठकमा सशक्त प्रतिरोध गर्ने भएका छन् । प्रधानन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाउँदै उनीहरूले भोलि १२ जेठमा बस्ने प्रतिनिधिसभा बैठकमा विगतमाभन्दा सशक्त ढंगले प्रतिरोध गर्ने बताएका हुन् ।
त्यसकै लागि आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरूको बैठक बसेको थियो । बैठकबाट ती दलहरूले सभामुख अर्याल संसद् सञ्चालनमा निष्पक्ष हुन नसकेको, सत्तारुढ दल रास्वपाको प्रभावबाट बाहिर निस्कन नसकेको र प्रधानमन्त्री शाहलाई संसद्प्रति जवाफदेही बनाउन असफल भएको निष्कर्ष निकालेका छन् ।
बैठकमा कांग्रेस प्रमुख सचेतक बास्ना थापा, एमाले प्रमुख सचेतक ऐन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए । बैठकपछि एमाले प्रमुख सचेतक महरले पत्रकारहरूलाई भने, ‘संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका लागि संसद्मा विपक्षीहरूबीचको छलफल र सहकार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने बारेमा हामी साझा निष्कर्षमा पुगेका छौं ।’
उनले प्रधानमन्त्री शाहले संसद्लाई उपेक्षा गरेको र उनलाई संसद्प्रति उत्तरदायी बनाउन सभामुखले नसकेको बताए । ‘प्रधानमन्त्रीले संसद्लाई लगातार उपेक्षा गर्ने र उहाँलाई संसद्प्रति उत्तरदायी बनाउन सभामुखले सक्नुभएन,’ उनले प्रभावसँग भने, ‘उहाँ पूर्ववर्ती दलको प्रभावबाट मुक्त हुनु भएन भन्ने हाम्रो ठहर रह्यो ।’
कांग्रेस प्रमुख सचेतक थापाले प्रधानमन्त्री शाहले पटक-पटक संसद्को अवमूल्यन गरेको र त्यो स्वीकार्य नहुने बताएकी छन् । उनलाई संसद्प्रति उत्तरदायी बनाउने जिम्मेवारी सभामुख अर्यालको भए पनि उनी सरकारसँग निरीह भएको उनको टिप्पणी छ ।
‘हामीले बारम्बार सदनमा भनिरहेका छौं कि प्रधानमन्त्रीको उपस्थिति चाहिन्छ, त्यसका लागि सभामुखलाई रुलिङ गर्न माग ग¥यौं तर प्रधानमन्त्री संसद्मा आउनै छाडे, यो ठीक होइन,’ उनले भनिन्, ‘सभामुखले पनि निरीहता प्रदर्शन गरेको देखियो ।’
उनले विपक्षी दलहरू विरोधका लागिमात्रै विरोध गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारिन् । संसद् सरकारलाई जवाफदेही बनाउने थलो भएकाले प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको उत्तर दिनुपर्ने उनको भनाइ छ ।
नेकपाका प्रमुख सचेतक दुलालले प्रधानमन्त्री शाहले संसद्लाई निरन्तर बेवास्ता गरेको हुनाले सदनमा विरोध जारी राख्ने बताए । उनका अनुसार प्रधानमन्त्री संसद्मा उपस्थित नहुने, सांसदहरूले उठाएका प्रश्नको उत्तर नदिने र विपक्षीको आलोचनालाई बेवास्ता गर्ने प्रवृत्तिले संसदीय प्रणाली कमजोर बनाएको छ ।
आइतबार नै काठमाडौंमा आयोजित एक कार्यक्रममा पनि विपक्षी दलका सांसदहरूले सभामुख अर्याल र प्रधानमन्त्री शाहको अर्को आलोचना गरे । उनीहरूको शैली संसदीय प्रणालीकै लागि घातक बन्न सक्ने भन्दै चिन्ता प्रकट गरे । एमालेकी सांसद साजिदा सिद्धिकी खातुनले सभामुख अर्याल रास्वपाभन्दा बाहिर निस्कन नसकेको र त्यो संसदीय व्यवस्थाको मर्म र भावनाविपरीत भएको बताइन् । उनले सभामुखलाई निष्पक्ष र तटस्थ सदनको नेताको रूपमा खडा गर्न भए पनि अबको सदन बैठकमा सशक्त प्रतिरोध हुने बताएकी छन् ।
सांसद खातुनले भनिन्, ‘सभामुखको कार्यशैली हेर्दा मलाई के फिल भयो भने, उहाँ रास्वपाभन्दा बाहिर निस्कन सक्नुभएन । उहाँले दलभन्दा माथि उठेर देश र जनताको सभामुख बन्नुभएको भए सुनमा सुगन्ध थपिन्थ्यो तर त्यसो नहुँदा संसदीय प्रणाली नै खतरामा पर्न सक्छ र उहाँलाई रोक्न चाहन्छौं ।’
सांसद खातुनले प्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुख सबै निष्पक्ष हुनुपर्ने भए पनि त्यस्तो महसुस गर्न नपाएको बताइन् । उनले संसद्मा निष्पक्षताको अभ्यास कमजोर बन्दै गएको आरोपसमेत लगाउँदै विपक्षी दलको आवाजलाई समान व्यवहार नगरिएको बताइन् । उनका अनुसार सभामुख अर्यालले सत्तापक्षलाई सदनमा प्राथमिकता दिएका छन् ।
अर्को प्रतिपक्षी दल नेकपाकी सांसद पार्वती विकले पनि सभामुखको भूमिकामाथि सार्वजनिकरूपमा प्रश्न उठाइन् । उनले सभामुख संसद्प्रति पूर्णरूपमा जवाफदेही देखिन नसकेको टिप्पणी गर्दै सभामुखको गतिविधि जनताले सूक्ष्म रूपमा नियालिरहेको बताइन् । त्यही भएर सदनमा चुपचाप नबस्ने उनले भनिन् ।
‘सभामुखको भूमिकाबारे मूल्यांकन भइराखेको छ । सदनभन्दा बाहिर पनि धेरै दिग्गज व्यक्तिहरू छन्, जसले सबै गतिविधि विश्लेषण गरिरहनुभएको छ । उहाँका बाध्यता के हुन् मलाई थाहा छैन, तर सबैले हेरिरहेका छन्,’ उनले बताइन् ।
पछिल्लो केही सातादेखि विपक्षी दलहरूले प्रधानमन्त्री शाह संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै लगातार विरोध जनाउँदै आएका छन् । विपक्षीहरूले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी बन्नुपर्ने संवैधानिक व्यवस्था स्मरण गराउँदै आएका छन् । तर प्रधानमन्त्रीको अनुपस्थितिमा संसद् बैठक सञ्चालन भइरहेको छ । यसले विपक्षी दलहरूलाई थप आक्रामक बनाएको छ ।
भोलि मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले संयुक्त रूपमा कडा प्रतिरोध गर्ने तयारी गरेसँगै संसद्को वातावरण थप तनावपूर्ण बन्ने हुने आकलन गरिएको छ ।