- देउवा दम्पती पक्राउ गर्ने सरकारको कदममा तत्कालका लागि बाधा
- कागजात नपुगेको भन्दै ‘रेड कर्नर नोटिस’ जारी गर्न इन्टरपोलद्वारा अस्वीकार
- उपचारका लागि भन्दै सिंगापुर गएको देउवा दम्पती हङकङमा भएको आशंका
काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणालाई ‘रेड कर्नर नोटिस’ जारी गरेर पक्राउ गर्ने सरकारको प्रयास तत्कालका लागि असफल भएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनीहरुलाई पक्राउ गर्न आवश्यक कागजात र प्रमाण अपर्याप्त भएको निष्कर्ष निकाल्दै तत्कालका लागि ‘रेड कर्नर नोटिस’ जारी गर्न अस्वीकार गरेको हो ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार देउवा दम्पतीविरुद्ध रेड नोटिसका लागि नेसनल सेन्ट्रल ब्युरो (एनसिबी)काठमाडौंमार्फत पठाइएको कागजातमाथि इन्टरपोलले प्रारम्भिक अध्ययन गर्दा प्रस्तुत कागजातहरू पर्याप्त नदेखिएको बताइएको छ । ‘अहिलेको अवस्थामा रेड कर्नर नोटिस जारी गर्न मिल्ने आधार पुगेको छैन भन्ने सन्देश आएको छ,’ एक प्रहरी अधिकारीले प्रभावलाई भने ।
रेड कर्नर नोटिस भनेको कुनै व्यक्तिलाई विश्वभरका सदस्य राष्ट्रहरूमा खोजी गरी पक्राउ गर्न आग्रह गर्ने सूचना हो । इन्टरपोलले देउवा दम्पतीको हकमा पक्राउ गर्न यस्तो सूचना जारी नगर्नुले अनुसन्धानको गति र प्रभावमा प्रत्यक्ष असर पार्ने देखिएको सरोकारवालाहरुले बताएका छन् ।
गत वर्षको २४ चैतमा देउवा दम्पतीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मागअनुसार पक्राउ पुर्जी जारी भए पनि देउवा दम्पती विदेशमा रहेका कारण पत्राउ परेका छैनन् । उनीहरूलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल गुहारेको थियो । तर, इन्टरपोलले रेड नोटिस जारी गर्नुअघि आवश्यक पर्ने कागजात, प्रमाण र अभियोगको स्पष्टता पर्याप्त नभएको ठहर गरेको छ ।
इन्टरपोलको नियमअनुसार कुनै पनि देशबाट पठाइने प्रस्तावमा आरोपको प्रकृति, त्यससम्बन्धी प्रमाण, अदालतको आदेश तथा मानवअधिकारसम्बन्धी मापदण्डहरू स्पष्टरूपमा पूरा भएको हुनुपर्छ । ती आधारहरू कमजोर देखिएमा इन्टरपोलले रेड नोटिस जारी नगर्ने वा थप कागजात माग्ने गर्दछ । देउवा दम्पतीको हकमा पनि इन्टरपोलले थप कागजात मगाएको छ । ती कागजात के–के हुन् भन्ने प्रहरीले खुलाएको छैन ।
देउवा दम्पती गत फागुनको पहिलो साता नै सिंगापुर गएका थिए । उनीहरू त्यहाँ गएको उपचारका लागि भनिएको थियो । भनिन्छ, सिंगापुरदेखि ७ चैतमा हङकङ गएका छन् । १४ चैतमा पक्राउ पुर्जी जारी हुँदा देउवाले अनुसन्धानका लागि सहयोग गर्ने सन्देश दिँदै आफू खुला किताब भएको बताएका थिए । तर, उनी कहाँ छन् ? अत्तोपत्तो छैन । त्यही भएर प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गराएर पक्राउ गर्न चाहेको हो ।
यदि रेड नोटिस जारी भए इन्टरपोलका १९६ सदस्य राष्ट्रहरूले उनीहरूलाई पक्राउ गर्न सक्ने नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल बताउँछन् । उनका अनुसार त्यसपछि आवश्यक कानुनी तथा कूटनीतिक प्रक्रिया पूरा गरी नेपाल फर्काउने सम्भावना रहन्छ । तर, देउवा दम्पतीको हकमा यी सबै प्रक्रिया हालका लागि अवरुद्ध भएको छ ।
यद्यपि, देउवा दम्पतीविरुद्ध अनुसन्धान भने रोकिएको छैन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संयुक्तरूपमा अनुसन्धानलाई निरन्तरता दिइरहेका छन् । आवश्यक प्रमाण संकलन, वित्तीय कारोबारको विश्लेषणजस्ता काम अहिले भइरहेको बताइएको छ ।
स्रोतका अनुसार देउवाका नातेदार प्रदीप शमशेर जबरा, भूषण राणा र छोरा जयवीर देउवालगायतको कारोबारबारेसमेत अनुसन्धान भइरहेको छ । यसअघि देउवापत्नी आरजु नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि जोडिएकी थिइन् । नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा तत्कालीन सञ्चार सचिव डा. बैकुण्ठ अर्यालमार्फत भएको विवादास्पद निर्णयपछिको कारोबारलाई पनि शंकास्पदरूपमा हेरिएको छ ।
देउवा दम्पतीमाथि गत वर्षको २३ र २४ भदौमा भएको जेन-जी विद्रोहको क्रममा आन्दोलनकारीबाट बूढानीलकण्ठस्थित आफ्नै निवासमा कुटपिट भएको थियो । सोही आन्दोलनमा उनीहरूको निवासमा आगजनी भएको थियो । त्यही बेला उनको घरमा जलेका नोटहरू भेटिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले नोटहरू संकलन गरेर अनुसन्धान थालेको थियो । यस्तोमा सम्पत्ति छानबिन गर्न भन्दै विभागले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।