- नदी किनार खाली गर्नैपर्छ, तर त्यो काम डोजरले होइन, कानुनको प्रयोग गरेर गर
- नक्कली सुकुम्बासीलाई दण्ड देऊ, तर वास्तविक भूमिहीनलाई पहिचान नगरी, पुनस्र्थापनाको आधार नबनाई, धम्क्याएर र लखेटेर हटाउने काम तत्काल बन्द गर
- राज्यको सामथ्र्य डोजरको दाँतमा होइन, कानुनको न्यायपूर्ण कार्यान्वयनमा देखाऊ
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सुकुमबासी बस्तीमा जबरजस्ती डोजर लगाउनु ठिक नभएको बताएका छन् । सुकुमबासी बस्ती हटाइएकोबारेमा पहिलोपटक धारण राखेका सभापति थापाले अब बोल्नैपर्ने समय आएको बताए ।
थापाले नागरिकलाई युद्ध अपराधीजस्तो व्यवहार गरेकोसमेत बताए । ‘अतिक्रमण हटाउने अधिकार सरकारलाई छ, तर आफ्ना नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन । कानुनको शासनमा परिणामजत्तिकै प्रक्रिया पनि महत्त्वपूर्ण हुन्छ,’ प्रज्ञा भवनमा शुक्रबार आयोजित कार्यक्रममा थापाले भने । उनले सभ्य र नम्र हुँदा कमजोरी नठान्नसमेत सरकारलाई चेतावनी दिए । ‘हामी सभ्य र विनम्र भएर प्रश्न गर्छौं, खबरदारी गर्छौं र विकल्प पनि सुझाउँछौँ । तर, सरकारले हाम्रो विनम्रतालाई कमजोरी नठानोस् । हामी नम्र छौं तर कमजोर छैनौं,’ थापाले भने ।
नक्कली सुकुमबासी हटाउनै पर्ने भए पनि कानुनी बाटो समाउनुपर्ने उल्लेख गर्दै थापाले सामाजिक सञ्जालमासमेत सरकारप्रति रोष पोखेका छन् । ‘नदी किनार खाली गर्नैपर्छ, तर त्यो काम डोजरले होइन, कानुनको प्रयोग गरेर गर,’ थापाले भनेका छन्, ‘नक्कली सुकुम्बासीलाई दण्ड देऊ, तर वास्तविक भूमिहीनलाई पहिचान नगरी, पुनस्र्थापनाको आधार नबनाई, धम्क्याएर र लखेटेर हटाउने काम तत्काल बन्द गर ।’ थापाले राज्यको सामथ्र्य डोजरको दाँतमा होइन, कानुनको न्यायपूर्ण कार्यान्वयनमा देखिनुपर्ने बताएका छन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति लक्षित गर्दै थापाले संवैधानिक संरचनाको सन्तुलन बिगार्न खोजिएको आरोप लगाए । संवैधानिक परिषद् राज्यको भएको उल्लेख गर्दै थापाले यसमा प्रतिपक्षी दलको पनि भूमिका हुने भएकाले यसको बनोट फेर्न खोज्नु अलोकतान्त्रिक भएको बताए । निर्वाचनले रास्वपालाई सरकार चलाउने र कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको उल्लेख गर्दै थापाले कांग्रेसले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने स्पष्ट पारे । ‘रास्वपालाई ५ वर्षका निम्ति सरकार चलाउने म्यान्डेट दिएको छ । हामी चाहन्छौँ उहाँहरूले प्राप्त गरेको म्यान्डेटअनुसार ठीक ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुहोस्,’ थापाले भने, ‘तर, यही इलेक्सनले नेपाली कांग्रेस पार्टीलाई संघीय तहमा पाँच वर्षको निम्ति प्रतिपक्षको भूमिका निर्वाह गर्ने म्यान्डडेड दिएको छ ।’
सभापति थापाले लोकतन्त्रमा प्रतिपक्षको काम प्रश्न र खबरदारी गर्ने भएको बताए । ‘लोकतन्त्रमा प्रतिपक्षीको काम प्रश्न गर्ने हो, खबरदारी गर्ने हो, आवश्यकता परेको बेलामा प्रतिवाद र प्रतिरोध गर्ने हो । विकल्प सुझाउने काम पनि हो,’ थापाले भने । देशको वर्तमान आर्थिक अवस्थाप्रति इंगित गर्दै सभापति थापाले अर्थतन्त्र ‘कोमा’मा जान लागेको संकेत गरे । बैंकमा पैसा थुप्रिने तर ऋण लिने वातावरण नहुनुले लगानीकर्तामा विश्वासको कमी देखिएको उनको भनाई थियो ।
कूटनीतिक र व्यापारिक सम्बन्धका विषयमा बोल्दै थापाले भारतले नेपाली चियामा लगाएको कर र चीनसँगको नाकामा देखिएको अवरोधका कारण नेपाली उद्यमी मारमा परेको बताए । नेपालको चिया ठूलो उद्योगका रूपमा स्थापित हुँदै गरेको अवस्थामा भारतले लगाएको करका कारण यो क्षेत्र चौपट हुने स्थितिमा पुगेको भन्दै उनले प्रभावकारी कूटनीतिक संवादमार्फत नेपाली उत्पादनलाई सहुलियत दिलाउन सरकारलाई आग्रह गरे ।
चीनसँगको उत्तरी नाकामा भइरहेको अवरोधले नेपाली अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै उनले सहज व्यापारिक वातावरण निर्माण गर्न तत्काल पहल गर्नुपर्ने बताए । भारत र चीन मिलेर लिपुलेक हुँदै मानसरोवर जाने बाटो खोल्ने सन्दर्भमा भइरहेका छलफलप्रति लक्षित गर्दै उनले यस्ता विषयमा नेपालको उपस्थिति र अडान स्पष्ट हुनुपर्ने बताए ।
श्रमिक अधिकारका विषयमा बोल्दै उनले ट्रेड युनियनहरू राजनीतिक दलको प्रभावबाट मुक्त भई श्रमिकको मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘युनियनको नेतृत्वले पार्टीको मुख ताक्ने होइन, तल श्रमिकको अवस्था हेर्ने हो । दलको झोला बोकेको आरोपबाट मुक्त हुन युनियनले आफ्नो व्यावसायिक मर्यादा कायम राख्नुपर्छ,’ सभापति थापाले भने ।