- वीरगञ्ज, सुनसरीको दुहबी र काठमाडौंको पशुपतिनाथ क्षेत्रमा चलाइयो
- विकल्पविना डोजर चलाएपछि सरकारको आलोचना
- जनताको संविधानप्रदत्त आवासको अधिकार हनन् भएको भन्दै चिन्ता व्यक्त
काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले देशका विभिन्न स्थानमा डोजर आतंक मच्चाउन थालेपछि सरकारको आलोचना भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनका क्रममा दिएको आश्वासनविपरीत डोजर चलाइएपछि सरकारको डोजर आतंकविरुद्ध आवाज उठेको हो ।
निर्वाचन प्रचारप्रसार अभियानको क्रममा रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकारले डोजर आतंक मच्चाए ‘छातीमा गोली थाप्न तयार हुन्छु’ भनेका थिए । तर, वालेन्द्र प्रधानमन्त्री भएको एक महिना नबित्दै आइतबार पर्साको वीरगञ्ज क्षेत्रमा डोजर चलाएको छ । प्रधानमन्त्री शाहका विश्वासपात्र रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको निर्देशनपछि डोजर चलाएको बताइन्छ । मान्छे घरभित्रै हुँदै १३ वटा डोजरले वीरगञ्जको मुख्य सडक आसपासको घर भत्काउन थालेको थियो ।
स्थानीयका लागि अस्थायी आवास व्यवस्थापन नगरी डोजर चलाइएपछि सरकारको चौतर्फी आलोचना भएको छ । वीरगञ्जको मुख्य सडक फराकिलो बनाउने भन्दै सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडकखण्डलाई फराकिलो बनाउने अभियानअन्तर्गत सडकको दायाँ-बायाँ २५-२५ मिटर क्षेत्रमा रहेका स्थायी तथा अस्थायी संरचनाहरू हटाउन डोजर चलाएको हो ।
त्यस क्रममा स्थानीयले प्रतिवाद नगरून् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी, डोजर र जेसिबीलगायत उपकरण लगिएको थियो । यसअघि यो क्षेत्रका घरधनीले बस्ती जोखिममा परेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोेच्चले गत २८ फागुनमा रिट खारेज गरिदिएको थियो । यद्यपि, त्यसपछि सडक विस्तारको काम सुरु हुन सकेको थिएन । मन्त्री सुनिलले भने अभियान सुरु गरेका हुन् । तर, बिनासूचना संरचना भत्काउन डोजर परिचालन गरिएको भन्दै स्थानीय आपत्ति जनाएका छन् ।
यता रास्वपा सभापति लामिछाने जवाफहीन भएका छन् । पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठकपछि बाहिरिने क्रममा उनलाई सञ्चारकर्मीहरूले डोजर आतंक सरकारले सिर्जना गरेको भन्दै प्रश्न गरेका थिए । लामिछाने जवाफ नदिई हिँडे ।
आफ्नै पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री हुँदा जनताको आवासको अधिकारलाई सुनिश्चित नगरी डाङडुङ भत्काएपछि लामिछाने रक्षात्मक अवस्थामा छन् । उनी नाजवाफ भएका हुन् । भोटका लागि उनले रास्वपाको सरकारले जनताको आवासको अधिकारलाई सम्बोधन गर्ने र डोजर आतंक नहुने गत निर्वाचनको बेला मतदातासँग मतदातासमक्ष प्रतिबद्धता जनाएका थिए । कारण, वालेन्द्र काठमाडौं महानगरका प्रमुख हुँदा थापाथलीलगायत विभिन्न ठाउँको सुकुम्बासी वस्ती मास्न पटक-पटक डोजर पठाएका थिए । सुकुम्बासी र वालेन्द्र शत्रुजस्तै भएको भन्दै आलोचना पनि भइरहेको थियो । यस्तोमा डोजर चलाइएको हो । हालै सुनसरीको दुबही क्षेत्रमा डोजर चलाइएको छ ।
सरकारको यस्तो कदमको चौतर्फी विरोध भरहेको छ । विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बसोबासीको आवास व्यवस्थापननिा सुकुम्बासी परिवारहरूलाई उठीबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ । पार्टी कार्यालयका मुख्यसचिव गणेशमान पुनले जारी गरको विज्ञप्तिमा वालेन्द्र सरकारको कदमलाई अमानवीय भनेका छन् र तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले जनताले बनाएको टहरा भत्काएको भन्दै गम्भीर असहमति राखेका छन् । सरकारले बहुसंख्यक जनसंख्याको हित गर्नुपर्नेमा सुकुम्बासीप्रति असहिष्णु बन्नुलाई गलत मानेका छन् । उनले टहरा बनाउँदा लाग्ने खर्च सरकारले बेहोर्नुपर्ने भन्दै दबाब दिएका छन् ।