काठमाडौं- नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि उच्च अंकको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक ४७ दशमलव ७१ अंकले घटेर दुई हजार ८३१ दशमलव ३९ को बिन्दुमा कायम भएको हाे ।
यो एक दशमलव ६५ प्रतिशतको गिरावट छ । आज ३४१ कम्पनीको तीन करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर एक लाख ५९ हजार ३२८ पटक खरिदबिक्री हुँदा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । आज २३७ कम्पनीको शेयर मूल्य घट्दा २६ वटाको मात्र बढेको छ । रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाईड्रोपावर लिमिटेड, रिजलाईन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै सोलु हाईड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ७९ प्रतिशतले घटेको छ ।