बाग्लुङ –गलकोट नगरपालिका-slk4३ मा रहेका पानीका मुहानको प्रमुख स्रोत बनेको समपोखरा ताल संरक्षण हुन नसक्दा यसको क्षेत्रफल साघुँरिदै जान थालेको छ ।
तालमाथिको खेतीयोग्य जमिन र जंगल क्षेत्रबाट बर्सेनि आउने बाढीले ताल पुरिँदै गएको हो । गलकोट नगरपालिकाको हटियाको खानेपानी, कृषि तथा आर्थिक पक्षसँग जोडिएको ताल ५० मिटर लामो र १५ मिटर चौडा छ ।
समुन्द्र सतहबाट दुई हजार मिटरको उचाइमा रहेको ताल संरक्षण गर्नुपर्नेमा स्थानीयवासी जयबहादुर दर्जी जोड दिएका छन् । ‘चौपायले पानी खाने ताल हो, पहिले निकै गहिरो थियो, अहिले माटो भरिएको छ’, उनले भने, ‘ताल नजोगाए पानीका मुहान सुकेर जान्छन् ।’
जैविक महत्व बोकेको यो तालमा विभिन्न प्रजातिका जलचरको बसोबास छ । तालभन्दा केही तल रहेको पानीको मुहानबाट ओख्रेनी खोला बग्ने गरेको छ । उक्त खोलाको पानी नै हटिया बजार र आसपासका गाउँलेले प्रयोग गर्दै आएका छन् ।
‘केही वर्षअघि ताल सफा गर्दा तलको मुहान सुक्यो पनि पछि पानी भरिएपछि फेरि खोला बगेको थियो’, दर्जीले भने, ‘यो ताल मास्न हुँदैन, जोगाएर राखे सबैलाई बचाउँछ ।’
समपोखरा वरपरको जंगलमा रहेका चराचुरुगीले प्यास मेट्ने प्रमुख थलो यही ताल भएको त्यहाँका अध्यक्ष फमबहादुर खत्रीले बताए।
‘आजसम्म संरक्षणमा कसैले पनि चासो दिएको पाइएन, अब हामी संरक्षण र प्रचार(प्रसार गर्छौँ। तालको प्राकृतिक अवस्था नबिग्रिने गरी क्षेत्रफल विस्तार र संरक्षणका लागि संरचना तयार गर्ने योजना छ’, अध्यक्ष खत्रीले भने ।
‘हिजोआज कृत्रिम ताल हेर्न पर्यटक खचाखच हुन्छन्, हामीसँग प्रकृतिको उपहार छ’, वडाध्यक्ष खत्रीले भने, ‘घुम्न र हेर्न मिल्ने बनाउँछौँ, प्रकृतिले दिएको पानी मासिन दिँदैनौँ । हटिया बजारबाट एक घण्टा पैदल र आधा घण्टा सवारीयात्रामा ताल पुग्न सकिन्छ । यो प्राकृतिक ताल हो । यहाँको पानी न कहिल्यै घटेको देखिन्छ न भरिएर बाहिर जान्छ ।’
तालको उत्तरपट्टि भट्ट बबाको मन्दिर छ । आसपासका गाउँका युवायुवतीका लागि वनभोजस्थल मात्र बन्ने गरेको यस ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके पर्यटक भित्र्याउन सकिने वडाध्यक्ष खत्रीले जानकारी दिए ।