भैरहवा–गृहमन्त्री बालकृष्ण खाणविरूद्ध रूपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रूपन्देही–३ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खाणविरूद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् ।
उम्मेदवारीविरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रूपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रनम्बर–३ मा उजुरी परेको हो । खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार छन् । यसअघि निर्वाचन आयोगमा दर्ता गर्न खोज्दा सम्बन्धित क्षेत्रमा उजुरी दर्ता गर्न भनेपछि रूपन्देहीमा आएर दर्ता गरेको अधिवक्ता बरालले बताइन् ।
उनले भनिन्, ‘खाण बहुविवाहमा संलग्न रहेको प्रमाण पाइएकाले उजुरी दर्ता गरेको हो । उनले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौं जेलमा सडाउने काम गर्नुभएको छ । देशकै गृहमन्त्रीले रूपन्देहीमा दिलमाया खाण, काठमाडौंमा मञ्जु खाण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ ।’
खाणले रूपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयनका क्रममा रूपन्देही–३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेको विवरणमा दिलमाया खाण श्रीमती भएको उल्लेख गरेका छन् भने त्यसबाहेक अरू निकायमा पेस गरेका कागजातमा भने उनले श्रीमतीका रूपमा मञ्जु खाणको नाम लेखेका बरालले दाबप् गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९ १५:२२