काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउने दाबी गरेका छन् ।
वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेता सिंहले आज बिहान घरदैलो कार्यक्रममा बोल्दै मुलुकको शिक्षाको विकासका लागि सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याइने बताए ।
नेता सिंहले घरदैलोका क्रममा मतदाताले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको माग राखिरहेको बताउँदै भने,‘निर्वाचनमा जित हासिल गरेपछि गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्छु ।’
उनले जनताले खानेपानीको समेत माग गरिरहेको बताए । शिक्षामा समानताका लागि संघीय शिक्षा ऐन बनाउँदा जोड दिने उनको भनाइ थियो ।
सिंहले मतदाताले अब पनि चुनाव जिताएर पठाउने र आफूलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहेको प्रतिक्रिया दिएको बताए ।
नेता सिंहले काठमाडौं क्षेत्र नं १ भित्र भएका सार्वजनिक जग्गा अनाधिकृत रूपमा प्रयोग भएकाले त्यसलाई फर्काएर सानो खेलग्राम र पार्क बनाउने आफ्नो योजना रहेको बताए ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९ १२:१९