हुम्ला– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ ।
नाम्खा गाउँपालिका–६ को लिमीका तीन मतदान केन्द्रमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो ।
हिमपातले न्यालु लेकको बाटो अवरूद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।
लिमीका तीन मतदान केन्द्र हल्जी, जाङ, तिल मतदान केन्द्रका लागि नेपाली सेनाको एमआई १७ बाट कर्मचारी र निर्वाचन सामग्री लिमी जाने निमित्त निर्वाचन अधिकारी रानाले बताए ।