काठमाडौं– विकासका दृष्टिले राजधानी काठमाडौँको दरबारमार्ग सुविधासम्पन्न मानिन्छ । स्वदेशी र विदेशी महङ्गा ब्राण्डले सजिएको यो क्षेत्र देशकै सबैभन्दा महङ्गोमध्येमा पर्छ । दुई वटा पाँच तारे होटलदेखि सुविधासम्पन्न रेष्टुराँ र पवले यो सानो क्षेत्र हर समय गुञ्जायमान भइरहन्छ ।
तर यही दरबारमार्गदेखि मात्रै ३० किलोमिटर उत्तर– पूर्वमा पर्ने नाङ्लेभारे भने विकासका दृष्टिले निकै पर धकेलिएको क्षेत्रमा पर्छ । यसले आधारभूत आवश्यकता अन्तर्गतका गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको सुविधाको महसुस गर्न पाएको छैन ।
राजधानी काठमाडौँको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो त्यही क्षेत्र हो, जसले २०७० र २०७४ सालमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जिताएको थियो । यसपटक भने सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का ओनसरी घर्ती प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । जसलाई माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन गरेको छ ।
हालैको चुनावी कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले (प्रचण्ड) ओनसरीलाई जिताए मन्त्री बनाउने र विकासको लहर ल्याउने दाबी गरेको छ । तर प्रचण्डका यी दाबीमा यहाँका मतदाताले विश्वास गर्ने बलियो आधार भने बन्न सकेको छैन । किनभने माओवादी पार्टीका तर्फबाट २०६४ सालमा माधवकुमार नेपाललाई पराजित गर्दै झक्कुप्रसाद सुवेदी विजयी हुँदा पनि यो क्षेत्रले केही पाएन ।
शङ्खरापुर नगरपालिकाको वडा नं १ मा पर्ने नाङ्लेभारे, चापाबोट र आसपासका समस्या निकै दयनीय अवस्था रहेको बुझ्न सकिन्छ । र, जनताका यी समस्या समाधानमा निर्वाचनमा नेताहरुले भने जस्तै हुन्छ भन्नेमा स्थानीय रोजिता तामाङ विश्वस्त हुन सकेको छैन ।
विगतका निर्वाचनमा उम्मेदवारहरुले दिएका विकास निर्माणका कामहरु पूरा भएनन् । ती चुनावी भाषणमा मात्रै सीमित भए । तर आश्वासनहरु अब भने पूरा हुन्छन् कि भन्नेमा स्थानीय कमलनाथ ढकाल आशावादी छन्। “पहिलाकाले आश्वासनमात्रै दिए, यसपटक उम्मेदवारले आफ्ना प्रतिबद्धता पूरा गर्लान् कि”, ७२ वर्षे ढकालले भने ।
चुनावी प्रचारप्रसारका क्रममा मत माग्दै नाङलेभारेका घरदैलोमा पुग्नु भएकी उम्मेदवार ओनसरी घर्तीले मतदाताका माग पूरा गर्ने बाचा दिए । “मलाई निर्वाचित गराएर पठाउनुस् म तपाईंसँग गरेको बाचा र प्रतिबद्धतामा पूरा गर्नेछु, यो विश्वासलाई कायम राख्ने छु ।”
नेतृ घर्तीले गठबन्धन विकास र समृद्धिको एजेण्डाका साथ अघि बढेको उल्लेख गर्दै जनताको आधारभूत आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा सम्बोधन गर्दै जाने बचन दिएकी छन् ।
स्थानीय नेता नेत्रप्रसाद दङ्गालले गाउँमा पानीको समस्या रहेको र करिब १२ किलोमिटर दूरी टाढाको सिस्नुखोला र छुलेखोलाको पानी गाउँमा ल्याउने योजना बनिरहेको बताए।
नेपाली कांग्रेसकी स्थानीय नेतृ मीरा महर्जनले सडक, खानेपानीको समस्या समाधानका साथै महिलालाई सुस्केरी गराउन विगतमा भोग्नुपरेका समस्या हल भइदिए राहत मिल्ने बताए ।
नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ क्षेत्र नं २ प्रदेशसभा सदस्यका उम्मेदवार ध्रुव केसीले गाउँको मुहार फेर्न आफू प्रतिबद्धताका साथ लाग्ने दाबी गरे । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार भरतप्रसाद फुँयालले यहाँका किसानका समस्या समाधानका लागि पहल गर्ने बताए । नौवटा वडा रहेको शङ्खरापुर नगरपालिकामा कुल २२ हजार छ सय मतदाता छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९ ११:५७