जुम्ला– जुम्लाका क्रियाशील सञ्चारकर्मीलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय जुम्लाको आयोजना तथा राष्ट्रिय समाचार समितिको सहकार्य र नेपाल पत्रकार महासंघ शाखा जुम्लाको समन्वयमा जिल्लास्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम भएको हो ।
जिल्ला निर्वाचन परिचालन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नेका लागि राज्यका सबै निकायको महत्वपूर्ण भूमिका हुने भएकाले सबैको सहयोग आवश्यक रहेको प्रजिअ केशरीले जानकारी दिए ।
जिल्लाका ६० वडामै महिला स्वास्थ्य स्वयंसेविकाबाट मतदाता शिक्षा कार्यक्रम लागू भई सञ्चालनमा आएको जिल्ला निर्वाचन परिचलान समितिले जनाएको छ । जिल्लाको शान्ति सुरक्षा कायम गर्ने प्रशासनको प्रमुख जिम्मेवारी रहेको प्रशासनले जनाएको छ ।
मुख्य निर्वाचन कार्यालयका प्रमुख विष्णुप्रसाद गौतमले निर्वाचनको अवधिभर नागरिकलाई निर्वाचनका सही सूचना दिनका लागि पत्रकारको अहंम् भूमिका रहेको बताए ।
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्णपालना गर्ने सबैको काम भएको आचारसंहिता पालना नगर्नेलाई आयोगले कानुनअनुसार कारबाही गरिने मुख्य निर्वाचन प्रमुख गौतमले जानकारी दिए ।
जिल्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । मतदान केन्द्र र मतदानस्थलमा कर्मचारी खटाउन बाँकी छ । अरु निर्वाचनसम्बन्धी सबै काम भइसकेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा कूल एक सय छ मतदान केन्द्र, ८३ मतदानस्थल र दुई अस्थायी मतदानस्थल कायम गरिएको छ । जिल्लाको कूल ६८ हजार छ सय ३८ मतदाता संख्या रहेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए ।
प्रदेशसभा निर्वाचन (क) मा ३६ हजार सात सय ८३ र प्रदेशसभा (ख) मा ३१ हजार आठ सय ५५ मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९ ११:३२