काठमाडौं - पानी पर्न थालेपछि डेंगु संक्रमणको जोखिम बढेको छ । दैनिक पानी पर्न थालेपछि डेंगुको जोखिम पनि बढेकाे इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण शाखाले जनाएकाे हाे ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेंगुको जोखिम पनि बढ्ने बताएका हुन् ।
“केही दिनअघि परेको पानीले डेंगु सङ्क्रमण बढाउने खतरा रहेको छ”, उनले भने, “आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेंगु सार्ने लामखुट्टेको विकास हुने गर्दछ । र त्यही लामखुट्टेले डेंगु सार्ने गर्दछ ।”
उनले पानी पर्न सुरु गरेकोले डेंगु सङ्क्रमणको जोखिम पनि बढेको बताए । डेंगुबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई उनले आग्रह गरे । कीटजन्य रोग शाखा प्रमुख डा. दाहालका अनुसार डेंगु सङ्क्रमणको जोखिम असारदेखि कात्तिकसम्म कायम रहन्छ । “पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेंगु रोग लाग्दछ । तसर्थ लामखुट्टेले फूल पार्नसक्ने सम्भावित ठाउँ पहिचान गरी सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ”, उनले बताए ।