काठमाडौं- नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले अन्तरराष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । उनले पहिलो पटक सो प्रतियोगितामा भाग लिएका हुन्।
जर्मनीमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक विधामा स्वर्ण पदक जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार राईले जानकारी दिए । वल्र्ड मार्सल आट्र्स कमिटी (डब्लुएमएसी) द्वारा आयोजित उक्त प्रतियोगितामा सुजनले चाइनिज क्रिएटिभ फम र ट्रेडिसनल फम विथ वेपनमा प्रतिस्पर्धा गरेका थिए ।
चाइनिज क्रिएटिभ फममा सुजनले २३.०२ अंक प्राप्त गरे । यो स्पर्धामा पाँच जना सहभागी थिए । सात खेलाडीले भाग लिएको ट्रेडिसनल फम विथ वेपनमा सुजनले २२.५८ अंक पाएका थिए ।
प्रतियोगितामा नेपालसहित १० राष्ट्रका एक हजार २०० खेलाडीको सहभागिता रहेको सङ्घले जनाएको छ । सुजनले सातौँ राष्ट्रिय प्रतियोगितामा उमा कुङफु च्याम्पियनसिपमा रजत पदक प्राप्त गरेका थिए ।