झापा- भद्रपुरमा सर्वाधिक पुरस्कारको महिला फुटबल प्रतियोगिता हुने भएकाे छ । भद्रपुरमा ११ लाख रुपैयाँ नगद राशि पुरस्कार रहेको अन्तरराष्ट्रिय नकआउट महिला फुटबल गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको हाे ।
चन्द्रगढी युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता यही २०८३ वैशाख ५ देखि १४ गतेसम्म मेची रङ्गशालामा सञ्चालन हुने क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए। प्रतियोगिताको मुख्य प्रायोजन भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले गर्ने भएको छ । प्रतियोगितामा विजेता टोलीले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष सुब्बाले बताए । महिला फुटबलको इतिहासमै यति धेरै नगद पुरस्कार पहिलोपल्ट दिइन लागेको छ ।
उनका अनुसार नेपाल, भारत र भुटानका १० वटा महिला फुटबल टोलीको सहभागिता रहने प्रतियोगितामा नेपालका शीर्ष टिमसहित भारत र भुटानको टिम आउने पक्का भइसकेको छ । आयोजकले अन्य देशबाट पनि टिम ल्याउने प्रयास गरिरहेको जनाएको छ । झापालाई महिला फुटबलको हब बनाउने र फुटबलबाटै भविष्य देखेका खेलाडीलाई प्रोत्साहित गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन गरिने उनले बताए । प्रतियोगिताका लागि अहिले मेची रङ्गशालाको मैदानमा आवश्यक तयारी भइरहेको छ ।