एजेन्सी - मध्यपूर्वमा बढ्दो राजनीतिक तनाव र सुरक्षा खतराका कारण सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरब छाडेका छन्। साउदीको राजधानी रियादस्थित अमेरिकी दूतावासमा इरानी ड्रोनहरूले आक्रमण गरेपछि पोर्चुगिज स्ट्राइकर रोनाल्डो आफ्नो निजी विमान चढेर राति नै स्पेनको मड्रिडगएका हुन्।
अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि रियादमा इरानी बम र ड्रोन प्रहार भएको छ। यस असुरक्षित वातावरणका कारण धेरै विदेशी नागरिकहरूले साउदी अरब छाडिरहेका छन्। रोनाल्डोले पनि सरकारी सल्लाह र आफ्नो सुरक्षालाई ध्यानमा राख्दै मड्रिडजाने निर्णय गरेका हुन्। ४१ वर्षीय रोनाल्डो हाल साउदी क्लब अल-नासरमा आबद्ध छन्।
रोनाल्डो आफ्नो ६१ मिलियन पाउण्ड (करिब १० अर्ब नेपाली रुपैयाँ भन्दा बढी) मूल्यको बमबार्डियर ग्लोबल एक्सप्रेस ६५०० विमानमा मड्रिडपुगेका हुन्। यो विमानमा १५ जनासम्म बस्न मिल्ने सिट, बेडरुम, र नुहाउने ठाउँ ९शावर० जस्ता सुविधाहरू छन्। विमानमा उनको सिआर७ ब्रान्डको लोगो पनि राखिएको छ।
फ्लाइट ट्र्याकरका अनुसार रोनाल्डोको विमान मंगलबार राति ८ बजे साउदीबाट उडेको थियो र इजिप्ट तथा भूमध्यसागर हुँदै करिब ७ घण्टाको उडानपछि राति १ बजे मड्रिडअवतरण गर्यो। उनीसँगै उनकी प्रेमिका जर्जिना रोड्रिगेज र पाँच सन्तान पनि रहेको बताइएको छ।
रोनाल्डो हाल खुट्टाको मांसपेशीको चोटका कारण मैदान बाहिर छन्। साउदीमा हिंसा बढ्दै गएपछि एसियाली फुटबल महासंघले एसियन च्याम्पियन्स लिगका आगामी खेलहरू पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। सुरक्षालाई ध्यानमा राख्दै फुटबलका गतिविधिहरू रोकिएकाले उनलाई साउदी छाड्न सजिलो भएको हो।
रोनाल्डो मात्र होइन, साउदी र दुबईमा रहेका हजारौं अमेरिकी र बेलायती नागरिकहरूलाई पनि आफ्नो देश फर्कन सल्लाह दिइएको छ। यस क्षेत्रमा बढ्दो युद्धको डरले गर्दा चर्चित व्यक्तिहरूले धमाधम मध्यपूर्व छाडिरहेका छन्।