काठमाडौं- आयोजक काष्ठमण्डपको ‘ए’ र ‘बी’ टोली काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डप ‘ए’ समूह ‘ए’ को उपविजेता तथा काष्ठमण्डप ‘बी’ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
काष्ठमण्डप ‘ए’ ले ६ तथा काष्ठमण्डप ‘बी’ ले ७ अंक जोडे । प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइएको छ । समूह ‘ए’ बाट ७ अंकका साथ ‘द सेलिब्रेसन’ को-एड विजेता तथा समूह ‘बी’ बाट ६ अंकसाथ एआईटीएम उपविजेता हुँदै सेमिफाइनल पुगेको हो ।
आयोजक दुवै टोलीको भेट सेमिफाइनलमा हुनेछ भने अर्को सेमिफाइनल सेलिब्रेसन को-एड र एआईटीएमबीच हुनेछ । शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ५० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । भक्तवीरसिंह तुलाधर फाउन्डेसनको मुख्य प्रायोजन तथा स्टडी प्लसको सहयोगमा मण्डिखाटारस्थित आयोजककै हातामा भइरहेको उक्त प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।