कास्की- पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा बंगलादेशसँग भारत पराजित भएकाे छ । भारतलाई बंगलादेशले २-० गोलले पराजित गरेको हाे ।
बंगलादेशले खेलको पहिलो हाफमा गरेको दुई गोलनै भारतलाई हराउन पर्याप्त रह्यो । खेलको २९ औँ मिनेटमा कप्तान अरपिता विश्वास अरपिताले गोल गरेर अग्रता बनाएका थिए । यसैगरी खेलको ४० औँ मिनेटमा अल्पी अक्तरले बंगलादेशका लागि गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोलले पछि परेको भारतले खेलमा फर्कन प्रयास गरेपनि सफल हुन सकेन ।
दुई खेलमा जित हासिल गरेपछि बंगलादेश जारी प्रतियोगिताको अंक तलिकामा शीर्ष स्थानमा रहेको छ । बंगलादेशले ६ अंक जोड्दा समान खेल खेलको भारत तीन अंकसहित दोस्रो स्थानमा छ । लिग चरणको आजको अर्को खेल घरेलु टोली नेपाल र भुटानबीच हुँदैछ । यी दुबै टोलीले पहिलो खेलमा पराजित भएका थिए ।
नेपाल आफ्नो पहिलो खेलमा भारतसँग १-० गोलले पराजित भएको थियो भने उद्घाटन खेलमा भुटान भने बंगलादेशसँग १२-० को फराकिलो अन्तरले पराजित भएको थियो ।