झापा- बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुने ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप’ (विनोद बस्नेत स्मृति संस्करण) को खेल तालिका आज सार्वजनिक गरिएको छ । आयोजक झापा गोल्डकपले यही माघ २४ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए । प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल १० टोलीको सहभागिता रहनेछ । जसमा माघ २५ गते दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन् ।
तालिकाअनुसार माघ २६ गते पहिलो क्वाटर फाइनलमा उद्घाटन खेलको विजेताले सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लबको सामना गर्नेछ भने माघ २७ गते दोस्रो क्वाटर फाइनलमा दोस्रो दिनको विजेता र पोखराको लालीगुराँस एसोसिएसनबीच प्रतिस्पर्धा उनले बताए ।
यसैगरी, माघ २८ गते तेस्रो क्वाटर फाइनलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र भूटानको रोयल थिम्पु कलेज तथा माघ २९ गते अन्तिम क्वाटर फाइनलमा मच्छिन्द्र फुटबल क्लब र मलेसियाको एन पेनाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने उनले जानकारी दिए । प्रतियोगिताको सेमिफाइनल खेल फागुन १ र २ गते हुनेछ भने फाइनल खेल फागुन ४ गते हुने तय गरिएको छ ।
प्रतियोगिताको विजेताले नगद रु १५ लाख र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले रु सात लाख ५० हजार पाउने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिए । व्यक्तिगत विधातर्फ, सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको एक थान मोटरसाइकल प्रदान गरिनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, प्रशिक्षक र उच्च गोलकर्ताले नगद ३५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले नगद २५ हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स रहेको छ ।