दमौली- व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा आज आयोजना गरेको अल्ट्रा म्याराथनमा नेपाली सेनाले बर्चस्व कायम गरेको छ । व्यास नगरपालिका-५ मानुङकोटदेखि वडा-८ पुलिमराङसम्मको ४४ किलोमिटर दूरीको म्याराथनमा प्रथम, द्वितीय र तृतीय नेपाली सेनाका धावक भएका छन् ।
प्रतियोगितामा बझाङका करन रावल प्रथम भएका हुन् । रावलले उक्त दूरी दुई घण्टा ४८ मिनेट २७ सेकेन्डमा पूरा गरे । त्यस्तै रामेछापका तिलकबहादुर सुनुवारले दुई घण्टा ५८ मिनेटमा निर्धारित दूरी पूरा गर्दै द्वितीय स्थान हासिल गरेका छन् । रामेछापकै होमलाल श्रेष्ठले तीन घण्टा चार मिनेटमा दूरी पार गर्दै तृतीय स्थान हासिल गरे ।
प्रतियोगितामा प्रथम हुनेलाई ८५ हजार ८२ रुपैयाँ , द्वितीय हुनेलाई ६५ हजार ८२ रुपैयाँ, तृतीय हुनेलाई ५५ हजार ८२ रपैयाँ पुरस्कार प्रदान गरिएको छ । म्याराथन मानुङकोट सिद्धमार्ग हुँदै अलैचे-चापाघाट-अनसन चौतारी-सफासडक-भोर्लेटार चोक-बैरेनी-दुम्सी-कलेस्ती-पाथ्रा-सत्रसय-बानियाँ डिही-बर्लाची-सोतीवेशी-बगुवा रिस्ती-बाहुन पोखरा हुँदै व्यास नगरपालिका-८ पुलिमराङमा पुगेर सकिएको थियो ।
म्याराथनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले म्याराथनले दुई गाउँलाई चिनाउन सहयोग पुगेको बताए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले मानुङकोटलाई उच्च प्राथमिकतामा राखेको बताउँदै खेलकुदका माध्यमबाट दुई गाउँ जोड्ने प्रयास गरिएको बताए ।
मगर समुदायको बसोबास रहेको मानुङकोट र गुरुङ समुदायको बसोबास रहेको सहिदभूमि पुलिमराङ जोड्ने अल्ट्रा म्याराथनले नगरपालिकाका छ वडालाई समेत प्रत्यक्ष जोडेको छ ।