कीर्तिपुर- आइसिसी महिला-टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सुपर सिक्स चरणको खेलमा स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित हासिल गरेकाे छ । बंगलादेशले स्कटल्यान्डमाथि ९० रनको फराकिलो जित हात पारेको हाे ।
यसअघि नै महिला विश्वकप प्रतियोगिताका लागि छनोट भइसकेको बंगलादेशले आजको खेलमा छनोट प्रतियोगिताकै सर्वाधिक १९१ रन बनाएको थियो । जसमा कप्तान निगर सुल्तानाले अर्धशतकीय पारि खेल्दै ५६ रन बनाइन् भने शोभना मोस्तारीले ४७ र जुअरिया फरडोसले २२ रन जोडे ।
कठिन लक्ष्य पछ्याउने क्रममा स्कटल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्न बंगलादेशकी मारुफा अख्तरले तीन र सोर्ना अख्तरले दुई विकेट लिएका थिए ।