काठमाडौं - आसन्न आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको सम्पूर्ण खेल कान्तिपुर म्याक्सले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा ट्वान्टी–२० विश्वकप आयोजना हुँदै छ । उक्त विश्वकपमा नेपालको पनि सहभागिता रहनेछ ।
पहिलो पटक ट्वान्टी–२० विश्वकप क्रिकेट नेपाली टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गर्न लागेको हो । विश्वकपका सबै ५५ खेलको प्रत्यक्ष प्रसारण गरिनेछ । कान्तिपुर म्याक्सबाट इंग्लिस कमेन्ट्री र कान्तिपुर म्याक्स टु बाट नेपाली कमेन्ट्रीमा प्रत्यक्ष प्रसारण गरिने कान्तिपुर मिडिया ग्रुपका सीईओ महेश्वर स्वाँरले जानकारी दिए ।
विश्वकपको प्रत्यक्ष प्रसारणको ब्रोडकास्टिङ टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेको छ । त्यसका लागि दुई पक्षबीच बुधबारै प्रायोजन सम्झौता भएको छ । कान्तिपुर म्याक्सका बिजनेस प्रमुख सागर केसी र एक्स्ट्रिम इनर्जी ड्रिंक्सका सेल्स प्रमुख पवनकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।