काठमाडाैं - पोखरामा जारी टाइगर कप भलिबलमा न्यु डायमन्ड स्पोर्टस् क्लबले जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार पहिलो खेलमा महिलातर्फ न्यु डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) माथि ३–० को सोझो सेटको जित निकालेको हो ।
न्यु डायमन्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ ले जित्यो । खेलमा प्लेयर अफ द म्याच न्यु डायमन्डकी सुमित्रा रेग्मी भइन् ।न्यु डायमण्डको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।
एपिएफले भने पहिलो हार बेहोरेको छ । यसअघि एपिएफले थाइल्यान्ड क्विन्सलाई पाँचौं सेटमा पराजित गरेको थियो । आइतबार दोस्रो खेल महिलातर्फ नेपाल पुलिस क्लब र थाइल्यान्ड क्विन्सबिच हुनेछ । त्यसपछि पुरुषतर्फका खेल हुनेछन् ।
पुरुषतर्फको पहिलो खेलमा एपिएफ र पर्वत भलिबल संघ भिड्नेछन् । दोस्रो खेलमा पुलिस र आर्मी खेल्ने तालिका छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।