बैतडी - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट माघ १२ गतेदेखि हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । खेलतालिकाअनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सङ्घका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए । समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, डोटी र अछाम रहेका छन् भने समूह ‘बी’ मा बैतडी, डडेल्धुरा, दार्चुला र बझाङ रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा माघ १२ गते कैलाली र अछाम भिड्नेछन् । माघ १३ गते कञ्चनपुर र अछाम, १४ गते कैलाली र डोटी, १५ गते अछाम र डोटी, १६ गते कैलाली र कञ्चनपुर, १७ गते कञ्चनपुर र डोटीबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै, माघ १८ गते बैतडी र दार्चुला, १९ गते बझाङ र दार्चुला, २० गते डडेल्धुरा र बझाङ, २१ गते डडेल्धुरा र दार्चुला, २२ गते बैतडी र बझाङ तथा माघ २३ गते डडेल्धुरा र बैतडी आमनेसामने हुनेछन् । दुवै समूहबाट शीर्ष स्थानमा पुग्ने एक÷एक टोलीले माघ २४ गते फाइनल खेल्नेछन् । प्रदेश छनोटपछि राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमको टोली बनाइने सङ्घले जनाएको छ ।