काठमाडौं - बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले २०२६ टी–२० विश्वकपका आफ्ना खेलहरू भारतमा नखेल्ने अडान दोहोर्याएको छ । दुई देशबीच विकसित परिस्थितिमा सुरक्षा चिन्ताका कारण बोर्डले यो अडान लिएको हो ।
आईसीसीसँग भएको भिडियो कन्फरेन्सपछि मंगलबार बीसीबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘छलफलका क्रममा बीसीबीले भारत नजाने निर्णयलाई पुनः दोहोर्यायो, सुरक्षा चिन्ता कारण देखाउँदै। बोर्डले आईसीसीसँग बंगलादेशका खेलहरू भारतबाहिर सार्न अनुरोध पनि दोहोर्यायो ।’
आईसीसीले टूर्नामेन्टको तालिका पहिले नै सार्वजनिक भइसकेको भन्दै बीसीबीसँग पुनर्विचार गर्न आग्रह गरेको थियो, तर बीसीबीको अडान परिवर्तन भएको छैन । दुवै पक्षले सम्भावित समाधान खोज्न छलफल जारी राख्ने सहमति गरेका छन्। बीसीबीले खेलाडी, अधिकारी तथा कर्मचारीको सुरक्षालाई प्राथमिकता दिँदै आईसीसीसँग रचनात्मक रूपमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
भिडियो कलमा बीसीबीका तर्फबाट अध्यक्ष अमिनुल इस्लाम, उपाध्यक्षहरू शाकावत हुसैन र फारुक अहमद, क्रिकेट अपरेसन्स कमिटीका अध्यक्ष नजमुल आबेदिन तथा सीईओ निजाम उद्दिन चौधरी सहभागी थिए ।सोमबार आईसीसीले बंगलादेश टोलीका लागि भारतमा कुनै विशेष वा बढेको सुरक्षा खतरा नभएको दावी गरेको थियो। यो मूल्यांकनमा केही स्थानमा कम–मध्यम जोखिम र अन्यमा कम वा शून्य जोखिम रहेको उल्लेख छ, जुन विश्वभरका आईसीसी आयोजनाहरूमा सामान्य श्रेणी हो। यद्यपि, बीसीबीले यो पर्याप्त नभएको ठहर गरेको छ।
यो विवादको सुरुवात कोलकाता नाइट राइडर्स (केकेआर)ले बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ को टोलीबाट हटाएपछि भएको हो। बीसीआईको निर्देशनमा यो कदम चालिएको थियो, जसको कारण स्पष्ट गरिएको छैन, तर दुई देशबीचको सम्बन्ध हालै तनावपूर्ण बनेको छ।मुस्ताफिजुर हटाइएपछि बंगलादेश सरकारले देशमा आईपीएलको प्रसारण प्रतिबन्ध लगायो र बीसीबीले आईसीसीलाई पत्र लेख्दै विश्वकपका खेलहरू भारतमा नखेल्ने बतायो।
२०२६ टि–२० विश्वकप भारत र श्रीलंकाले संयुक्तरूपमा फेब्रुअरी ७ बाट आयोजना गर्दैछन्। बंगलादेशको समूह चरणका पहिलो तीन खेल कोलकातामा र अन्तिम खेल मुम्बईमा तय छ।बंगलादेशका खेलकुद सल्लाहकार आसिफ नजरुल यो मागका अगाडि रहेका छन्। यो मुद्दा अझै समाधान हुन बाँकी छ र दुवै पक्षबीच छलफल जारी छ। टि-२० विश्वकपमा नेपाल र बंगलादेश एउटै समूहमा छन् । नेपालले समूह चरणमा आफ्नो अन्तिम खेल बंगलादेशसित खेल्ने तालिका छ ।