बरहथवा- फुटबल खेल र खेलाडीको प्रवद्र्धन गर्ने उद्देश्यसहित सर्लाहीको लालबन्दीमा ‘प्रथम लालबन्दी मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप २०८२’ आयोजना गरिएको छ । बुधबार सर्लाहीको लालबन्दी नगरपालिका-१, नवलपुर फुटबल रङ्गशालामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो ।
लालबन्दी नगरपालिका मुख्य आयोजक रहेको उक्त प्रतियोगिता माघ १६ देखि २७ गतेसम्म सञ्चालन गरिने भएको छ । प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीको प्रवद्र्धनमा टेवा पुग्ने जीवेश्वर युवा क्लबका अध्यक्ष दीपेन्द्र बुढाथोकीले जानकारी दिए । प्रतियोगितामा अन्तर प्रदेशका चारसहित १२ टोलीले सहभागिता जनाउने भएका छन् ।
माघ २७ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले रु तीन लाख र उपविजेताले रु एक लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । ‘म्यान आफ दी म्याच’ सहित प्रतियोगितामा अन्य पाँच विधामा खेलाडीलाई पुरस्कृत गरिने अध्यक्ष बुढाथोकीले बताए ।
प्रतियोगिताले नवलपुर क्षेत्रको खेल पर्यटनमा समेत फाइदा पु¥याउने लालबन्दी नगरपालिका-१७ का वडाध्यक्षसमेत रहेएका नगर खेलकुद विकास समितिका संयोजक विष्णु अधिकारीले बताए । सहभागी टोलीहरूमा सर्लाहीको जीवेश्वर युवा क्लब, पर्साको वीरगञ्ज युनाइटेड, बाराको रतनपुर युनाइटेड, रौतहटको नेपाल खेलकुद क्लब, महोत्तरीको ब्याग्ङखाडी युवा क्लब, धनुषाको धनुषा-११, सिरहाको गोलबजार स्पोट्र्स क्लब, सप्तरीको न्यू त्रियुगा स्पोट्र्स क्लब, उदयपुरको गाईघाट युवा क्लब, सुनसरीको इनरुवा फुटबल क्लब, चितवनको भरतपुर फुटबल क्लब र हेटौँडाको मकवानपुर जिल्ला फुटबल सङ्घ रहेका छन् ।