काठमाडाैं - बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आईसीसी टी-२० विश्वकप २०२६ का लागि राखेको स्थल परिवर्तको माग अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) खारेज गरेको छ ।
मंगलवार भएको भर्चुअल बैठकमा बीसीबीले सुरक्षा कारण देखाउँदै बंगलादेशका खेलहरू भारतबाहिर सार्न गरेको माग आईसीसीले खारेज गरेको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।
बंगलादेशले आफ्ना खेलहरू भारतमै खेल्नुपर्ने अन्यथा यसले अंक गुमाउन सक्ने आईसीसीले बीसीबीलाई भनेको खबरमा उल्लेख छ । यद्यपि बीसीबीले आईसीसीबाट त्यस्तो कुनै अल्टिमेटम नपाएको बताएको छ ।
आइतबार बीसीबीले आईसीसीलाई पत्र लेखेर बंगलादेशका खेलहरू भारतबाट सार्नेबारेमा विचार गर्न अनुरोध गरेपछि आईसीसीले बैठक बोलाएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बंगलादेश र भारतबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली कोलकाता नाइट राइडर्सलाई मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएपछि विवाद बढेको हो ।
टी–२० विश्वकपमा बंगलादेशले आफ्ना खेलहरू कोलकाता र मुम्बईमा खेल्ने तालिका छ । प्रतियोगिताका १०औँ संस्करण आउँदो फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा शुरू हुँदैछ । नेपालसहित २० वटा टोली सहभागी प्रतियोगिताको फाइनल खेल मार्च ८ मा हुनेछ ।विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । यो समूह नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बंगलादेश छन् ।