काठमाडौं- नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा संचालन हुने दोस्रो आइजीपी नेश्नल तेक्वान्डो च्याम्पियनसिप-२०८२ आइतबारबाट शुरू भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नेपाल पुलिस स्कुल सामाखुसीमा आयोजित एक कार्यक्रम बिच उक्त प्रतियोगिताको उद्घाटन गरे ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई उत्कृष्ट खेल प्रदर्शन तथा सफलताको शुभकामना व्यक्त गरे ।
यस्ता प्रतिस्पर्धात्मक प्रतियोगिताहरूले समग्र रूपमा विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन, सामूहिक भावना, नेतृत्व क्षमताको विकासको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी तयार गर्न सहयोग पुग्ने बताए ।
उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य राम प्रसाद भुसालले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी जानकारी दिएका थिए ।
सोमबार सम्पन्न हुने उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे, नेपाल पुलिस स्कुल धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुर लगायत ४५ वटा विद्यालय/डोजाङका करिब ६ सय जना तेक्वान्डो खेलाडीहरूको सहभागीता रहेको छ ।
कार्यक्रममा विभिन्न विद्यालयका खेलाडीहरू, शिक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।