झापा- झापामा यही पुस २७ र २८ गते ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा हुने प्रतियोगिता काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।
दुई देशबीचको आपसीसम्बन्ध स्थापित तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रेस क्लबका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका आठ वटा मिडिया टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताका बिजेतालाई रु ५० हजार तथा उपविजेतालाई रु ३० हजारसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पौडेलले बताए । नकआउटको आधारमा खेलाइने प्रतियोगिताका सम्पूर्ण खेल फिफाको नियम अनुसार खेलाइने र खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलगायतलाई विषयगत विधामा नगदसहित पुरस्कृत गरिने जनाइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब रु दुई लाख खर्च अनुमान गरिएको छ । त्यसका लागि स्थानीय सरकार, सङ्घसंस्था तथा उद्योगी व्यवसायी समक्ष सहयोगका निम्ति आह्वान गरिएको छ ।