काठमाडौं - एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशले नेपाललाई सात विकेटले हराएको हो ।
युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बंगलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । एक सय ३१ रनको विजयी लक्ष्य बंगलादेशले २४ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । बंगलादेशका लागि जावाद अब्रारले ६८ बलमा सात चौका र तीन छक्काको मद्दतमा अविजित ७० रन बनाए ।
यस्तै कलाम सिद्दिकीले ६६ बलमा ३४ रन बनाए । बलिङतर्फ नेपालका लागि अभिशेख तिवारी र युवराज खत्रीले समान एक एक विकेट लिए । त्यसअघि नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । त्यस्तै आशिष लुहारले २३ तथा साहिल पटेलले १८ रनको योगदान दिए ।
बलिङतर्फ बंगलादेशका लागि एमडी सोबुजले तीन तथा साद इस्लाम, अजिजुल हाकिम र शाह्रियर अहमदले दुई दुई विकेट लिए । नेपाल यसअघि आफ्नो पहिलो खेलमा यही मङ्सिर २७ गते टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो ।