म्याग्दी - जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज उद्घाटन गरेका छन् ।
प्रतियोगितामा जिल्लास्थित एक नगरपालिकासहित पाँच गाउँपालिकाबाट छनोट भएका विद्यार्थीले सहभागिता जनाएका छन् । पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता बनेर विद्यार्थी छनोट भई जिल्लास्तरीय खेलमा सहभागी भएका हुन् । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ४०० विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
छात्र र छात्रातर्फ भलिबल, कबड्डी र एथलेटिक्सतर्फ विभिन्न विद्यामा गरी कूल ४२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । उनका अनुसार विजेता खेलाडी गण्डकी प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट हुनेछन् ।
प्रथम हुने पालिकालाई रु २० हजारका साथमा रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय र तृतीय हुने पालिकालाई क्रमशः रु १५ हजार र रु १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा पूर्वराज्यमन्त्री गर्बुजाले खेलकुदले युवा विद्यार्थीमा प्रतिस्पर्धी क्षमताको विकास गर्दै मुलुकका लागि हरेक क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवहाक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले पालिकास्तरमा पहिचान भएका खेलाडीलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्नका लागि रनिङ शिल्ड प्रतियोगिताले सहयोग पुर्याउनेमा जोड दिएका थिए ।