काठमाडौं - संयुक्त अरब इमिरेट्स (युएई) मा यही मङ्सिर २६ गतेदेखि हुने एसिसी पुरुष यु–१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर टोलीको बिदाइ गरेको हो ।
बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशनबहादुर सिंहलगायतको उपस्थिति रहेको थियो । अशोक धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली युएई प्रस्थान गर्नेछ ।
टोलीका अन्य सदस्यमा नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपीन शर्मा, वंश छेत्री र युवराज खत्री रहेका छन् ।
नेपालले पहिलो खेल श्रीलङ्कासँग यही मङ्सिर २७ गते खेल्ने छ । नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ । नेपालले सबै खेल सेभेन्स रंगशालामा खेल्नेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । उपाधि भिडन्त पुस ६ गते हुनेछ ।