इन्डोनेसिया- इन्डोनेसियास्थित मागुवोहर्जो रंगशालामा आज नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछन् । स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ । नेपाल र इन्डोनेसियाबीचको यो दोस्रो खेल हो ।
यसअघि म्यान्माको मण्डलेमा भएको एएफसी ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा भेट भएको थियो । जसमा समूह ‘ए’मा रहेको नेपालले इन्डोनेसियालाई २–१ ले हराएको थियो । नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले इन्डोनेसियाविरुद्धको खेलमा जित हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रने बताए । उनले भने, “नेपाली टोली शारीरिक र मानसिक दुवै रुपमा तयार छन् हामी जितका लागि खेल्नेछौँ ।”
नेपाली टोलीको कप्तान सावित्रा भण्डारी (साम्बा) यस त्रिदेशीय खेलमा उपस्थिति हुने छैनन् । ‘इन्जुरी’का कारण सावित्रा उपस्थित नभएपछि उनको स्थानमा आज रस्मीकुमारी घिसिङलाई खेलाउने प्रशिक्षक न्यौपानेले राससलाई जानकारी दिए । नेपाली टोलीका मुख्य प्रक्षिक्षक न्यौपानेको प्रशिक्षणमा गत महिना नेपाली महिला टोलीले भारतको सिलोङमा भएको त्रिदेशीय च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । जसमा नेपाल इरानसँग पराजय भोग्दा भारतलाई भने हराउँदै जित हासिल गरेको थियो ।
त्यसैगरी, नेपाली टोलीको कप्तानीको भूमिका भने अञ्जिला तुम्बापो (सुब्बा)ले गर्नेहुनेछ । उनले आफ्नो टोली मानसिक रुपमा तयार रहेकाले जित हालिस गर्ने बताए । आजदेखि सुरु भएको उक्त त्रिदेशीय खेलमा नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेइ सहभागी छन् । प्रतियोगिता यही मङ्सिर १६ गतेसम्म सञ्चालन हुनेछ ।