काठमाडौं - खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गरेका छन् । ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरुले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे प्रदर्शन गरेका हुन् ।
खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको संघले जनाएको छ । पटकपटक लिग स्थगित नगर्न भने पनि बेवास्ता गरिएपछि प्रदर्शनमै उत्रिनु परेको खेलाडीको भनाइ छ ।
प्रदर्शनमा खेलाडीका साथै फुटबल समर्थहरु पनि छन् । प्रदर्शन सुरु भएपछि एन्फामा सुरक्षा व्यवस्था कडा पारिएको छ । एन्फाको गेट बन्द गरिएकाे छ भने भित्र प्रवेश गर्न रोक लगाइएको छ । एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग फुटबल सुरु गर्ने निर्णय गरेको थियो ।