महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाल मलेसियासँग हारेको छ।बिहीबार क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा मलेसियाले नेपाललाई ३ रनले जितेको हो।
टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेपालले ७ विकेट गुमाउँदै मात्र १ सय १ रन बनायो।
नेपालका लागि पुजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाउँदा सम्झना खड्काले १६ बलमा १८ रन जोडिन्।मलेसियाको लागि नुर डानियाले सर्वाधिक ३ विकेट लिइन्।
यसअघि मलेसियाकी कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २६ रन बनाइन्।उनले ४१ बलको सामना गर्दा एकै बाउन्ड्री प्रहार गर्न सकिनन्। ओपनर ऐना हमिजा हसिमाले २६, मास ऐसाले २५ रन बनाए।
नेपालका लागि सुमन विष्टले सर्वाधिक दुई विकेट लिइन्। उनले ४ ओभरमा एक मेडनसहित २१ रन खर्चिइन्। पूर्वकप्तान रुविना क्षेत्रीले एक विकेट लिइन्।
मलेसिया भ्रमणमा रहेको नेपालले विश्वकप छनोटअघि मलेसियासँग पाँच खेलको सिरिज खेलिरहेको हो।आज जितसँगै मलेसियाले १–० को अग्रता लिएको छ। अब दोस्रो खेल शनिबार हुनेछ।