काठमाडाैं - यूएईले आसन्न नेपाल र वेस्ट इन्डिजको क्रिकेट सिरिजका लागि नेपाली खेलाडीहरूलाई भिसा दिने संकेत गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले इमरेट्स क्रिकेट बोर्डमार्फत गरेको पहलमा यूएईले सकारात्मक प्रतिक्रिया दिएको हो ।
नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको छ । खेलाडीहरूले केही दिन अगाडि भिसाका लागि आवेदन गरे पनि अहिलेसम्म पाएका छैनन् । शुक्रबार नेपाली क्रिकेट टीम यूएई प्रस्थान गर्ने तालिका भए पनि भिसा नआएकाले रोकिएका छन् ।
नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत पहल गरेको थियो । यूएईको बोर्डबाट भिसा प्राप्त हुने प्रत्याभूति गराइएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।