काठमाडौं-नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने भएको छ । आगामी भदौ १० देखि १४ गतेसम्म पाँच अभ्यास खेल खेल्ने क्रिकेट संघले जनाएको हो ।
अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग पाँच अभ्यास हुँदै गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालले आगामी भदौ १० गते एसिटी तथा भदौ १२ गते साउथ अस्ट्रेलियासँग समान दुई दुई ट्वान्टी-२० खेल्ने भएको उल्लेख गरेको छ । पहिलो खेल बिहान ४ः४५ तथा दोस्रो खेल ९ः४५ मा सुरु हुनेछ ।
त्यसैगरी नेपालले भदौ १४ गते साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने तय गरिएको छ । यो खेल बिहान ५ः४५ मा सुरु हुने छ । यो अभ्यास शृंखला अघि नेपालले अस्ट्रेलियाको डार्बिनमा टप एन्ड टी-२० सिरिज पनि खेल्नेछ । उक्त सिरिज यही साउन २९ देखि भदौ ८ गतेसम्म हुँदैछ ।
त्यहाँ नेपालले अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बङ्गलादेशको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकप छनोटको तयारीस्वरूप उक्त खेल खेल्न लागेको हो ।