काठमाडाैं - आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ को अन्तिम खेलमा नेपाललाई घरेलु टोली थाइल्यान्डले नेपाललाई ७८ रनले पराजित गरेको छ।
नेपाल र थाइल्यान्डले सुपर-३ को शीर्ष दुईमा रहदै विश्व छनोटमा स्थान पक्का गरिसकेका सकेका थिए। आजको जितसँगै थाइल्यान्ड एसिया छनोटको विजेता बनेको छ। थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको ८० क्षतिमा रन बनायो।
नेपालका लागि कविता कुँवरले २४ रन, राजमति ऐरीले नटआउट २० रन र रुबिना क्षेत्रीले १२ रन बनाए। अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा थाइल्यान्डकी ओनिचाले ह्याट्रिकसहित ४ विकेट लिइन्। उनले १९औं ओभरमा रोमा थापा, इश्वरी विष्ट र रिया शर्मालाई लगातार आउट गरेर ह्याट्रिक पूरा गरिन्।
मंगलबार विहान टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २ विकेटको क्षतिमा १५८ रन बनायो। थाइल्यान्डका लागि ओपनर नतायाले अर्धशतक प्रहार गरिन्। उनले ५० रन बनाउने क्रममा ४२ बल खेलेर ५ चौका प्रहार गर्न सफल भइन्। अर्की ओपनर अपिसाराले २९ रन बनाउँदा ननापतले नटआउट ५० रनको जोडिन्।
बलिङमा नेपालका मनिषा उपाध्याय र राजमति ऐरीले १-१ विकेट लिए।यसअघि सोमबार सुपर-३ को खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गर्दै विश्वकपको विश्व छनोटमा स्थान पक्का गरेको थियो। अब नेपालले यसै वर्ष विश्व छनोट खेल्दैछ।
नेपालले पहिलो पटक विश्व छनोटमा स्थान पक्का गरेको हो। विश्व छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।