एजेन्सी - भारतको भुवनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। पाँच देश सम्मिलित यो प्रतियोगिताको समूह चरणको अन्तिम दिन नेपाल र बंगलादेश तथा भारत र माल्दिभ्सबीच खेल हुँदैछ।
नेपाल र बंगलादेशबीच दिउँसाे सवा चार बजे कालिङ्गा रंगशालामा प्रतिस्पर्धा हुनेछ। आयोजक भारत र माल्दिभ्स साँझ सवा सात बजे भिड्नेछन्।
समूह चरणका शीर्ष दुई टिम फाइनल पुग्ने प्रावधानअनुसार ९ अंक जोडेर शीर्ष स्थानमा रहेको बंगलादेश, ६ अंक जोडेको दोस्रो स्थानको भारत र ६ अंक नै जोडेको तेस्रो स्थानको नेपाल फाइनल पुग्ने होडमा छन्।
सुरुवाती दुई खेलमा माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपालले भारतविरुद्धको तेस्रो खेलमा भने नमिठो हार बेहोरेको थियो। तेस्रो खेलमा घरेलु टिम भारतसँग ८-० गोलले पराजित हुँदा नेपालको फाइनल यात्रा पनि कठिन बनेको थियो।
नेपाललाई फाइनल पुग्न आजको खेलमा जित आवश्यक छ। हारले नेपालको फाइनल यात्रा समाप्त हुनेछ। बराबरी खेलेको अवस्थामा नेपालको फाइनल पुग्ने सम्भावना हुनेछ। त्यसका लागि भारतको खेलमा भर पर्नु पर्नेछ।