काठमाडौं- आइसिसी विश्वकप लिग–२ शृंखलाअन्तर्गत क्यानडाविरुद्ध नेपाल २४ रनले पराजित भएको छ।
आज भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६ ओभरमा २३२ रनमै अलआउट भयो।
नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले आज ११२ बलमा चार चौकासहित ८७ रनको पारी खेले। यस्तै, दीपेन्द्रसिंह ऐरीले २७, इशान पाण्डे र गुलशन झाले २१–२१, आसिफ शेखले २०, रोहितकुमार पौडेलले १८ र करण केसीले अविजित १७ रन जोडे।
क्यानडाका लागि बलिङतर्फ सुखजिन्दर सिंहले ३, कलिम सना र शील पटेलले २–२ विकेट लिए। त्यसअघि अलअमरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनायो। उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले। उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन्। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युवराजको यो पहिलो शतक हो।
आरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समित गोयलले १७ रन जोडे।
नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशीले ४, कप्तान सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा रोहितकुमार पौडेलले १ विकेट लिए।
यो हारपछि नेपाल विश्वकप लिग–२ तालिकाको सातौं स्थानमा झरेको छ। शीर्ष छमा स्थान बनाउन नेपालले अब अन्तिम खेलमा ओमानविरुद्ध जित्नैपर्ने समीकरण बनेको छ। नेपाल र ओमानबीचको खेल सोमबार हुने तालिका छ।