काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग-२ को एकदिवसीय शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ।
मंगलबार ओमानको अल अमेरत क्रिकेट ग्राउन्ड मिनीस्ट्री टर्फ-१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो। अघिल्लो खेलमा नेपाल क्यानाडाविरुद्ध विजयी भएको थियो।
मंगलबार घरेलु टोली ओमानविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै २६४ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याएको ओमानले ४० ओभरमा सबै विकेट गुमाएर १५० रनमात्र जोड्न सक्यो।
ओमानका लागि कप्तान भिनायक शुक्लाले ७७, जय ओडेड्राले २५ तथा जतिन्दर सिंहले १८ रनको योगदान गरे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा हार बेहोर्नुपर्यो।
ओमानलाई १५० रनमै समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने र नन्दन यादवले तीन-तीन विकेट लिए। दिपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक-एक विकेट लिएका छन्।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल बनाएको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रनको योगदान गरे। उनले ६७ बलमा तीन चौका र एक छक्काको सहयोगमा ६१ रन बनाएका हुन्।
त्यस्तै करण केसीले १६ बलमा ४० रन बनाए भने अर्जुन कुमालले पनि समान ४० रन नै बनाए। बसिर अहमद र इशान पाण्डेले समान ३७-३७ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले २२ रन बनाए।
बलिङतर्फ ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले समान दुई–दुई विकेट लिए। त्यस्तै हस्नेन शाहले एक विकेट लिए।
यो जितसँगै नेपालको २८ अंक पुगेको छ। नेपाल अंकतालिकाको छैटौं स्थानमा छ।
अब नेपालले ओमानमै क्यानाडा र घरेलु टोलीविरुद्ध एक-एक खेल खेल्ने छ।