काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग-२ को एकदिवसीय शृंखलाअन्तर्गत जारी ओमानविरुद्धको खेलमा नेपाल जिततर्फ उन्मुख भएको छ।
ओमानको अल अमेरत क्रिकेट ग्राउन्ड मिनीस्ट्री टर्फ-१ मा जवाफी ब्याटिङ गरिरहेको घरेलु टोली ओमानो टोलीका ब्याटरहरु नेपाली बलरसामु टिक्न संघर्ष गरिरहेका छन्।
यो समाचार तयार पार्दासम्म ओमानले १४ ओभरमै छ विकेट गुमाइसकेको छ। उसले जम्मा ४७ रन जोडेको छ।
नेपालले दिएको २६४ रनको लक्ष्य भेट्टाउन ओमानलाई अब कठिन हुने देखिन्छ।
नेपालका लागि सन्दीप लामिछाने र नन्दन यादवले दुई-दुई तथा करण केसी र ललित राजवंशीले एक-एक विकेट लिएका छन्।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल बनाएको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रनको योगदान गरे। उनले ६७ बलमा तीन चौका र एक छक्काको सहयोगमा ६१ रन बनाएका हुन्।
त्यस्तै करण केसीले १६ बलमा ४० रन बनाए भने अर्जुन कुमालले पनि समान ४० रन नै बनाए। बसिर अहमद र इशान पाण्डेले समान ३७-३७ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले २२ रन बनाए।
बलिङतर्फ ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले समान दुई–दुई विकेट लिए। त्यस्तै हस्नेन शाहले एक विकेट लिए।