काठमाडौं- आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृंखलामा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी भएको छ।
जारी लिग-२ मा नेपालको १२औँ जित हो। यो जितपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना बढेको छ।
आज भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ दशमलव चार ओभरमा २११ रनमा अलआउट भयो। उसका लागि आरोन जोनसनले ४४, समित गोहेलले ३५, अखिल कुमारले अविजित ३०, श्रेयस मोभ्वा र हम्जा तारिकले २६/२६ रन जोडे।
बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक देखिएन। नेपालका लागि बलिङतर्फ ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले दुई/दुई विकेट लिए।
त्यसअघि मस्कटस्थित अल अमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनायो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सानदार पारी खेले। उनले १०७ बलमा आठ चौका र एक छक्कासहित १०१ रनको पारी खेलेका हुन्। यस्तै, गुलशन झाले ४८ बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन जोडे। क्यानडाका लागि बलिङमा अखिल कुमारले सर्वाधिक चार विकेट लिए।
यो जितपछि नेपाल अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ। नेपालले अहिलेसम्म ३३ खेलमध्ये १२ खेलमा जित र १९ खेलमा पराजय व्यहोरेको छ। यस्तै, नेपालले दुई खेलमा अंक बाँडेको छ।