काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि चीन राजदूत माओ मिङले आज भेटवार्ता गरेका छन्।
सभापति लामिछानेको बूढानीलण्ठस्थित निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
उक्त भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे। खोज, उद्दारदेखि पुनःनिर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए।
विपद्लगत्तै उद्दारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उनले दिए।
सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। नेपालको विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्त्वपूर्ण हुने बताउँदै उनले आगामी दिनमा थप सहकार्यको आग्रह गरे।