भजनी- कैलालीमा असोज १९ देखि २६ गतेसम्म ‘टीकापुर गोल्ड कप-२०८३’ आयोजना हुने भएपछि टीकापुरवासी खुसी भएका छन् । टीकापुर उद्योग वाणिज्य संघले टीकापुरलाई खेलकुदको माध्यमबाट अन्तर्रास्ट्रियस्तरमा चिनाउन उद्देश्यले गोल्ड कप आयोजना गर्ने भएपछि यहाँका स्थानीयवासी खुसी भएका हुन् ।
संघका अध्यक्ष सन्तोष खड्काले गोल्डकप हुने भएपछि यहाँ आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको आगमनसँगै स्थानीय क्षेत्रमा चहलपहल बढ्ने भएका कारण सर्वसाधारण खुसी हुने बताए । अध्यक्ष खड्काले प्रतियोगितालाई सफल बनाउन राजनीतिक दल, सामाजिक संघसंस्था, उद्योगी, व्यवसायी, खेलप्रेमी तथा सर्वसाधरणलाई अनुरोध गरेका छन् ।
खड्ग स्मृति रङ्शाला, टीकापुरमा खेल खेलाइने नगर खेलकुद विकास समितिले बताएको छ । खेल सञ्चालनका लागि खड्ग स्मृतिको स्वामित्वमा रहेको २२ बिघा मैदान प्रयोग गरिने भएको छ । मैदानलाई खड्ग स्मृति रङ्गशालाको नाम दिइएको छ । प्रतियोगितामा स्वदेश तथा देश बाहिरका विभिन्न फुटबल समूहको सहभागिता रहने छ । देश बाहिरका समूहका लागि अखिल नेपाल फुटबल संघसँग समन्वय र सहकार्य भइरहेको संघले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि रु एक करोड खर्च हुने अनुमान गरिएको छ । टीकापुर नगरपालिकाले रु सात लाख बजेट विनियोजन गरेको छ । स्थानीय तह, प्रदेश सरकार तथा निजी व्यापारी तथा व्यवसायीसँग सहयोगको अपिल गरिएको छ ।