काठमाडौं - विश्व फुटबलका दुई पुराना प्रतिद्वन्द्वी इंग्ल्यान्ड र अर्जेन्टिना फेरि एकपटक विश्वकपको मञ्चमा आमनेसामने हुँदै छन्। बुधबार राति अमेरिकाको एटलान्टामा हुने दोस्रो सेमिफाइनलमा दुवै टोलीको लक्ष्य फाइनलमा स्थान सुरक्षित गर्दै उपाधितर्फ अर्को कदम बढाउने दाउमा छन् ।
इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा केवल खेलमा सीमित छैन। करिब दुई शताब्दीदेखिको ऐतिहासिक तथा राजनीतिक सम्बन्ध, सन् १९८२ को फकल्यान्ड (माल्भिनास) युद्धको पृष्ठभूमि, र विश्वकपमा भएका अविस्मरणीय भिडन्तहरूले यसलाई फुटबल इतिहासकै सबैभन्दा चर्चित, भावनात्मक र तीव्र प्रतिद्वन्द्वितामध्ये एक बनाएका छन्।
विश्वकपमा यी दुई टोलीबीच भएका खेलहरूले सधैं विशेष चर्चा पाएका छन्। सन् १९८६ को क्वार्टरफाइनलमा डिएगो म्याराडोनाले गरेको विवादास्पद "ह्यान्ड अफ गड" गोल र त्यसपछि गरेको अद्भुत एकल गोल आज पनि विश्व फुटबलका सबैभन्दा चर्चित क्षणमध्ये पर्छ। त्यसपछि सन् १९९८ को विश्वकपमा डेभिड बेकह्यामको रातो कार्ड र अर्जेन्टिनाको पेनाल्टी सुटआउट जितले पनि यो प्रतिस्पर्धालाई झन् रोमाञ्चक बनाएको थियो।
यसपटकको भेट भने २१ वर्षपछि दुवै टोलीबीचको पहिलो प्रतिस्पर्धात्मक खेल हुनेछ। यसअघि सन् २००५ मा स्विट्जरल्यान्डको जेनेभामा भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले अर्जेन्टिनालाई ३–२ ले पराजित गरेको थियो। सोही खेलमा तत्कालीन १८ वर्षीय लियोनल मेस्सीले पहिलोपटक इंग्ल्यान्डविरुद्ध खेलेका थिए।
दुई दशकपछि परिस्थिती पूर्ण रूपमा बदलिएको छ। अर्जेन्टिनाका कप्तान तथा अनुभवी स्टार मेस्सीमाथि टोलीलाई पुनः विश्वकपको फाइनलमा पुर्याउने ठूलो जिम्मेवारी छ। अर्कोतर्फ, युवा प्रतिभाले भरिएको इंग्ल्यान्ड आफ्नो लामो उपाधि प्रतीक्षाको अन्त्य गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ।
दुवै टोली उत्कृष्ट लयमा रहेकाले एटलान्टामा हुने यो सेमिफाइनललाई प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक र उच्चस्तरीय खेलका रूपमा हेरिएको छ। फाइनलको टिकटसँगै दशकौं पुरानो प्रतिद्वन्द्विताको अर्को ऐतिहासिक अध्याय पनि यही खेलबाट लेखिने अपेक्षा गरिएको छ।