काठमाडाैं - साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६को सेमिफाइनलमा स्थान बनाएको छ । जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गोल गरेपछि अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको हो ।
कान्सास सिटीमा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।११२औँ मिनेटमा अल्भारेजले करिब २५ यार्ड टाढाबाट गरेको शानदार प्रहार गोलमा परिणत भएपछि अर्जेन्टिनाले अग्रता लियो। त्यसपछि इन्ज्युरी समयमा मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाले जित सुनिश्चित गर्यो।
खेलको १०औँ मिनेटमै लियोनेल मेस्सीको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। दोस्रो हाफमा खेलमा फर्किएको स्विट्जरल्यान्डका लागि ६७औँ मिनेटमा डान न्डोयेले रिकार्डो रोड्रिगेजसँगको उत्कृष्ट तालमेलपछि गोल गर्दै बराबरी गरे।
खेलको सबैभन्दा विवादास्पद क्षण ७२औँ मिनेटमा आयो। स्विट्जरल्यान्डका स्ट्राइकर ब्रिल एम्बोलोलाई सुरुमा लियान्द्रो पारिडेसले फाउल गरेको ठानिएको थियो र पारिडेसले पहेंलो कार्ड पाए। तर भिएआरले पुनरावलोकन गर्दा एम्बोलोले फाउल भएको नाटक (डाइभिङ) गरेको देखिएपछि रेफ्रीले पारिडेसको कार्ड रद्द गर्दै एम्बोलोलाई दोस्रो पहेंलो कार्ड देखाएका थिए । दोस्रो पहेंलो कार्डका कारण एम्बोलो मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्ड १०खेलाडीमा सीमित भयो।
त्यसपछि अर्जेन्टिनाले खेलमा पूर्ण नियन्त्रण जमायो र अल्भारेजको उत्कृष्ट गोलमार्फत अग्रता लियो। बराबरी गोलको खोजीमा अगाडि बढेको स्विट्जरल्यान्ड काउन्टर अट्याकमा समातिँदा मार्टिनेजले अन्तिम मिनेटमा गोल गर्दै अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानलाई जीवित राखे।
आइतबार विहान भएको खेल जित्दै इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका हुन् । यही दुई टोली सेमिफाइनलमा भिड्नेछन् ।अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच असार ३१ गते अमेरिकाको डालास स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार विहान पौने १ बजे सुरु हुनेछ ।यस्तै इंग्ल्यान्ड र बीचको दोस्रो सेमिफाइनल असार ३२ गते बिहीबार अमेरिकाकै एटलान्ट स्टेडियममा हुनेछ । यो खेल पनिन पाली समय अनुसार विहान पौने १ बजे सुरु हुनेछ ।सेमिफाइनलका विजेता टिमले साउन ४ गते अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा फाइनल खेल्नेछन् ।
जारी क्वार्टरफाइनलमा स्वीट्जरल्यान्डविरुद्ध लियोनल मेस्सीसहितका अर्जेन्टिनाका खेलाडीको हातमा कालो पट्टी बाँधेर खेलिएको छ । उनीहरू अर्जेन्टिनी टोलीका पूर्वकप्तान एन्टोनियो राट्टिनप्रति श्रद्धाञ्जलीस्वरुप कालो पट्टी बाँधेर खेल मैदानमा उपस्थित भएका हुन् । राट्टिनको निधन शनिबार मात्र भएको थियो । उनी सन् १९६६ को फिफा विश्वकपमा अर्जेन्टिनी टोलीका कप्तान थिए । उनी अर्जेन्टिनी फुटबल क्लब ‘बोका जुनियर्स’का महान मिडफिल्डरमध्ये एक मानिन्थे ।
सन् १९६६ मा भएको विश्वकप फुटबलमा इंग्ल्यान्डविरुद्ध खेल्दा उनले क्वार्टरफाइनलमा ‘रेड कार्ड’ पाएका थिए । त्यो रेडकार्ड विश्वकप इतिहास विवादास्पद मध्येको एक मानिन्छ । त्यही विवादास्पद रेडकार्डले उनलाई चर्चित पनि बनायो । अर्जेन्टिना–स्वीट्जरल्यान्डबीचको खेल सुरु हुनुअघि हालै निधन भएका अफ्रिकी खेलाडी जाडेन एडम्सको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।