काठमाडाैं - फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार विहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुंगो लागेको हो । जुड बेलिंघमले २ गोलको मद्दतमा इंग्ल्यान्डले नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
मियामी स्टेडियमम भएको क्वार्टरफाइनलमा नर्वेले ३६औं मिनेटमा अग्रता लिए पनि इंग्ल्यान्डका एन्थोनी गोर्डनको उत्कृष्ट पासमा जुड बेलिंघमले सहज फिनिस गर्दै टोलीलाई १–१ को बराबरीमा पु¥याए । दोस्रो हाफमा नर्वेले टोब्र्योर्न हेग्गेमले गरेको गोल एर्लिङ हालान्डले इलियट एन्डरसनलाई धक्का दिएको कारण फाउल ठहर भएपछि रद्द भयो।
निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समय सुरु भएको तीन मिनेटमै इंग्ल्यान्डले निर्णायक गोल गर्यो ।वैकल्पिक खेलाडी मोर्गन रोजर्सको प्रहार गोलकिपर ओर्यान निलान्डले पूर्ण रूपमा नियन्त्रण गर्न नसक्दा रिबाउन्डमा बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाएका हुन् ।
यो जितसँगै इंग्ल्यान्ड तेस्रो पटक विश्वकप को सेमिफाइनल पुगेको हो। सन् १९६६ पछि दोस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यबाट इंग्ल्यान्ड अब एक कदम मात्र टाढा छ । यो खेलमा २ गोल गरेका जुड बेलिङ्घम ‘प्लेयर अफ द म्याच’ घोषित भए। नर्वे विश्वकपको क्वार्टरफाइनलमा पहिलो पटक पुगेको थियो।