एजेन्सी- एर्लिङ हालान्डले दोस्रो हाफमा २ गोल गरेपछि नर्वेले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २-१ ले हराउँदै इतिहासमै पहिलो पटक फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
न्युयोर्क–न्यु जर्सी स्टेडियममा आइतबार भएको अन्तिम १६ को खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको चौथो मिनेटमै प्याट्रिक बर्गले गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएन।
ब्राजिलले पहिलो हाफमै अग्रता लिने सुनौलो अवसर पाएको थियो। तर ब्रुनो गिमारेसको पेनाल्टी नर्वेका गोलरक्षकले बचाएपछि खेल गोलरहित रह्यो।त्यसपछि लामो समय शान्त देखिएका हालान्ड ७९औँ मिनेटमा चम्किए। एन्ड्रियास स्केल्डेरुपको क्रसलाई गाब्रिएललाई उछिन्दै हेडमार्फत जाली चुमाउँदै उनले नर्वेलाई १–० को अग्रता दिलाए।
९०औँ मिनेटमा हालान्डले बक्स बाहिरबाट प्रहार गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि नर्वे २-० ले अघि बढ्यो र जित लगभग निश्चित गरे । दुवै गोलका लागि स्केल्डेरुपले नै असिस्ट गरेका थिए।
जारी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका लियोनेल मेस्सी र फ्रान्सका मिलियन एम्बाप्पेलाई हालान्डले भेट्टाएका छन् ।
इन्जुरी समयको १०औँ मिनेटमा रेफ्रीले लियो ओस्टिगार्डले कासेमिरोलाई कुहिनाले प्रहार गरेको ठहर गर्दै ब्राजिललाई दोस्रो पेनाल्टी दिएको थियो। वैकल्पिक खेलाडी नेयमारले त्यसलाई गोलमा परिणत गरे पनि त्यो केवल सान्त्वना गोलमा सीमित रह्यो।
योसँगै ब्राजिल सन् १९९० पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्न असफल भएको छ।विश्वकप इतिहासमै पहिलो पटक अन्तिम आठमा पुगेको नर्वेले अब जुलाई ११ मा हुने क्वार्टरफाइनलमा इङ्ग्ल्यान्ड वा सह–आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ।