काठमाडौं - उपाधि दावेदार जर्मनी विश्वकप फुटबलको अन्तिम ३२ बाटै बाहिरिएको छ । अन्तिम ३२ को खेलमा आज बिहान पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४-३ ले पराजित हुँदै जर्मनी पहिलो नकआउटबाटै बाहिरिएको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमासमेत खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमा खेल निर्णायक बनेको थियो । शुरूआती पाँच पेनाल्टीमा ३–३ को बराबरी भएसँगै डेथ पेनाल्टीमा पाराग्वे ४–३ ले विजयी भयो ।
पेनाल्टीमा जर्मनीका जोसुआ किम्मिच, जमाल मुसिआला र नदिम अमिरीले गोल गरे भने काइ हाभर्ट, निक वोल्टमेड र जोनाथन ताह भने असफल भए । पाराग्वेका मौरिसिओ, गुस्ताभो गोमेज, मातिआस गालार्जा र जोस कानाले गोल गर्न सफल भए । एन्टोनिओ सानाब्रिआ र फाबिअन बाल्बुएना भने गोल गर्न चुके ।
यसअघिको खेलको नकआउट चरणको खेलमा निर्धारित ९० मिनेटसम्म दुवैले १–१ गोलको बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गयो । उक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो । अतिरिक्त समयको १२ औँ मिनेटमा जर्मनीका जोनाथन ताहले गोल गरेका थिए । तर भीएआरले उक्त गोललाई खारेज गरेको थियो ।
त्यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भयो । खेलको ४२ औँ मिनेटमा युलियो एन्सिसोको गोलमा पाराग्वेले अग्रता लियो । ५४ औं मिनेटमा जर्मनीका काइ हाभर्टज्ले गोल गर्दै १–१ को बराबरीमा ल्याए । १२० मिनेटसम्मको खेलमा जर्मनीले ७५ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिए पनि समयमै जित हासिल गर्न सकेन । १२० मिनेटसम्म गोलका लागिसमेत धेरै प्रहार गरे पनि जर्मनी असफल भयो । दुवै टिमतर्फ २–२ ओटा पहेँलो कार्ड दिइयो ।