काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्रा सहित दुई जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले मंगलबार दिउँसो अन्तर्राष्ट्रिय प्रस्थानतर्फको ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सुनसरी घर भएका ४० वर्षीय बेचन मिया र चिनियाँ नागरिक ५१ वर्षीय यो योउलङ (YO YOULONG) रहेका छन्। प्रहरीका अनुसार कतार एयरवेजको उडानमार्फत काठमाडौंबाट कतार जान लागेका बेचन मियाको साथबाट ४२ हजार ४ सय कतारी रियाल बरामद गरिएको थियो।
त्यसैगरी, चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट चीन जान लागेका चिनियाँ नागरिक यो योउलङको साथबाट ७ हजार ५ सय अमेरिकी डलर फेला परेको थियो।बरामद गरिएको विदेशी मुद्रा सम्बन्धित कानुनी प्रक्रिया पूरा नगरी बाहिर लैजान खोजिएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।